Thaha

Saturday 21 September - 4:45 pm NST

एमाले पोलिटव्यूरो बैठक बस्दै, विवाद टुंगो लगाउन  गठित कार्यदलले प्रतिवेदन पेश गर्ने तयारी,

काठमाडौं, २४ चैत । नेकपा एमालेको पोलिटव्यूरो बैठकमा आज मनोनयन विवाद टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको विवादका कारण एमालेमा विभिन्न विभागका विभागिय प्रमुखको समेत मनोनयन हुन सकेको छैन  । एमालेले मनोनयन विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।  केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयन टुंग्याउन पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदल बनाएको र कार्यदलले सकभर आजको पोलिटव्यूरो बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  पोलिटव्यूरो बैठक आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लागने समेत जिम्मेवारी पाएको छ । प्रस्ताव पोलिटब्यूरोमा पेश भएपनि त्यसलाई केन्द्रीय कमिटीमै लगेर टुंग्याउने तयारी छ ।